जीवन र सेवा | दिवश पौडेल
सद्भावनाको मूलमा फुटी
म सेवाको नदीमा बगूँ
करुणाको दहभित्र
म जीवनको अस्तित्व पाऊँ।
आफ्नो जीवनको श्रृङ्गार
अरूको सेवाद्वारा, केवल
अरूकै जीवनमा देखूँ।
उदारताको दर्पण
हरपल तनमनमा पाइरहूँ
मनका सारा दरारलाई
तनका सारा तकरारलाई
उदारताले जोडूँ।
सेवामा उदार चित्त राखी
म मुस्कान प्रवाह गरिरहूँ।
ज्योतिको शक्तिलाई
म संसारभरि छरूँ; अनन्त!
पृथ्वीलाई ज्ञानकै चक्र
भनी उपनाम दिऊँ; समस्त!
ज्ञानले सारा जगतको
सत्यता उजागर गरूँ
समस्या निवारण गरूँ
अनि चेतना विस्तार गरूँ।
सत्य ज्ञान र वचनको
अनुशरणले
सृष्टिमा विश्वास फैलाऊँ।
नवसिर्जनालाई
अझ बास्नादार बनाऊँ।
सेन्ट इग्नेसियस झैँ
अशान्तिबाट शान्तिमा
म रूपान्तरित हुन सकूँ
र शान्तिको मन्द गतिमा
म क्रान्तिकारी बन्न सकूँ।
नयाँ नयाँ रचनामा
म शान्तिले नै क्रान्ति गरूँ
क्रान्तिले नै शान्ति छरूँ।
हासोँ र खुसी छर्दै
म अरूकै मुस्कानमा रमूँ
अरूका ती मुस्कानले
अरूका उज्याला मनले
अमृत अर्पण गरिरहोस् ।
मेरो जीवनलाई दृढ अनि
एकै मार्गमा तल्लीन
तिनकै शुभेच्छाले बनाओस् ।
0 Comments